चितवनका दुई जनाकै कोरोना संक्रमण पुष्टि, टेकु प्रयोगशालामा पनि पोजिटिभ देखियो

चितवनका दुई जनाको कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पुनः परीक्षणमा पनि दुई जनाकै कोरोना पोजिटिभ देखिएको हो ।
यसअघि भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालाले ती दुई जनाको हिजो राती कोरोना पोजिटिभ भएको नतिजा दिएको थियो । त्यसपछि राती नै पुनः परीक्षणका लागि स्वाब काठमाडौं पठाइएको थियो । पूर्वीचितवनको राप्ती नगरपालिकाका ती कोरोना संक्रमित आमा र छोरा अहिले भरतपुर अस्पतालको आइसोलसन कक्षमा उपचाररत छन् ।
र्यापिड टेस्टको क्रममा शंकास्पद देखिएपछि दुई जनासहित परिवारका अर्का एक व्यक्तिलाई भरतपुर ल्याइएको थियो । उनीहरुको हिजो (बिहीबार) स्वाब संकलन गरी भरतपुरमा परीक्षण गरिएको थियो । कोरोना संक्रमित दुवै जनाको अवस्था सामान्य रहेको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । बिहीबार भरतपुरमा ३६ जनाको कोरोना परीक्षण हुँदा पहिलो चरणमा ३१ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । पाँच जनाको पुनः परीक्षण गर्दा तीन जनाको नेगेटिभ र दुई जनाको पोजिटिभ रिपोर्ट आएको थियो ।
चितवनमा कोरोना संक्रमणको यो पहिलो केस हो । यसअघि चितवनमा कोरोना संक्रमित फेला परेका थिएनन् ।
No comments: